Thursday, July 30, 2015

कास्कीको लुम्ले र भदौरे तामागीमा भिषण पहिरो, २० को मृत्यु, दर्जनौ घाईते (मृतकको नाम र तस्विरहरु सहित)


कास्की, १४ साउन, कास्कीका विभिन्न ठाउँमा गएको बाढी र पहिरोमा परी अहिलेसम्म २० जनाको मृत्यु भएको छ । दर्जनौं घाईते र बेपत्ता भएका छन् ।
गएराती परेको ठूलो बर्षासँगै लुम्ले गाउँ विकास समितिस्थित घुम्तीमा पहिरो जाँदा १५ जनाको मृत्यु भएको छ भने भदौरेतामागीमा गएको पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । लुम्लेमा गएको पहिरोमा परी १४ र भदौरेतामागीमा ४ जना बेपत्ता भएका छन् । ३ जना घाईतेलाई उपचारका लागि पोखरा ल्याईएको छ ।
भदौरेतामागी र चापाकोटमा घाइते भएका १४ जनालाई उपचारका लागि पोखरा ल्याईएको छ । लुम्लेमा गएको पहिरोमा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन भने भदौरेतामागीमा ज्यान गुमाएका सबैको सनाखत भएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भदौरेतामागीमा मृत्यु हुनेमा ६५ बर्षीया टीकाराम विक, ५५ बर्षीया रामुकुमारी विक, ३१ बर्षीया गौरी पराजुली, ७ वर्षीय करण पराजुली, र ६५ बर्षीया नन्दकली पराजुली रहेका छन् । बेपत्ताहरुको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।
लुम्लेमा पहिरो गएर सडक समेत पुरिएपछि अवरुद्ध भएको पोखरा बाग्लुङ्ग सडकमार्ग प्रहरी र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् ।
गएराती परेको अविरल बर्षासँगै आएको बाढीले पोखराको सेती नदी किनार आसपासका दर्जनभन्दा बढी घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । स्रोतः डन न्यूज 
समाचारसँग सम्बन्धित तस्वीर हेर्नको लागि तलको बक्सको बीचमा क्लिक गर्नुहुन अनुरोध छ ।